विगत पन्ध्र वर्षदेखि फिल्म पत्रकारिता गर्दै आएका दीपेन्द्र
लामाले फिल्मको कथा लेखेका छन् । उनले लेखेको ‘नागबेली’ फिल्म यही असार २७
गते सार्वजनिक प्रदर्शनमा आउँदैछ । वि.सं. २०५२ सालमा स्थापित नेपाल
चलचित्र समिक्षक समाजका वर्तमान महासचिव लामाले पत्रकारिता सुरु गरेको
वर्षदेखि नै नेपाली तथा हिन्दी फिल्मको समिक्षा गर्दै आएका छन् । उनले
हालसम्म नेपाली र हिन्दी गरी एक सय फिल्मको समिक्षा गरे । नेपाली फिल्म ‘एक
नम्बरको पाखे’बाट फिल्म समिक्षा सुरु गरेका समिक्षक तथा फिल्म लेखक
दीपेन्द्र लामासँग फिल्मखबरका उत्सव रसाईलीले कुराकानी गरेका छन् ।
तपाइँको फिल्म समिक्षा त खरो हुन्छ नि ?
नेपाली फिल्म पुरानो अवस्था पार गरेर नयाँमा प्रवेश गरेको अवस्था हो । यो
अवस्थामा फिल्मको गम्भिर समिक्षा गर्न आवश्यक छ । यसले नयाँ दिशा देखाउँछ ।
समिक्षा गर्ने संस्कृतिले फिल्मलाई सही बाटो देखाउन सहयोग गर्छ । अहिले
मिडिया धेरै छन् । फिल्मवालाको पहुँच मिडियासँग बलियो छ । मिडियाले जस्तो
फिल्म आएपनि ‘राम्रो छ’ भनेर‘प्रचारकारिता' गरि रहेको अवस्था छ । यसले
दर्शक र पाठकलाई भ्रमित भैरहेका छन् । कसको कुरा पत्याउने कसको नपत्याउने
भनेर छुट्याउनै गाह्रो छ । यस्तो बेलामा इमान्दार समिक्षा गर्न सक्यौं भने
दर्शकलाई भ्रमबाट मुक्त गर्न सक्छौं ।
फिल्मको समिक्षाले के महत्व राख्दछ ?
निर्देशक र निर्माताको सम्पत्ती भनेकै फिल्म हो । पचास वर्ष पछि या सय
वर्षपछि मान्छेले फेर्केर हेर्दा राम्रो फिल्म नै खोजेर हेर्छ, कमाउने
फिल्म हैन । फिल्म राम्रो हुनु र पैसा कमाउनु अलग कुरा हो । समिक्षकले सधैं
के सोच्दछ भने राम्रो फिल्मले नै पैसा कमाउँछ । समिक्षकले तारिफ गरेको
फिल्मले नै पैसा कमाउँछ भन्ने ‘ग्यारेन्टी’ चाहिं हुँदैन ।
समिक्षकले फिल्मको व्यापार चौपट पारे भन्ने आरोप छ नि ?
समिक्षकको समिक्षाले दर्शकलाई सुसुचित गर्छ । फिल्म हेर्ने वा नहेर्ने
निर्णय चाहिं दर्शककै हातमा हुन्छ । समिक्षक भन्दा दर्शक नै निर्णायक हुन् ।
त्यसैले समिक्षकले फिल्मको व्यापार चौपट गर्छ भन्ने हुँदैन । नराम्रो
फिल्मलाई राम्रो भनेर झुक्याउन खोज्नेहरु चाहिं समिक्षसँग डराएका हुन् ।
फिल्म समिक्षाको १५ वर्षे करिअरमा नेपालीमा कस्तो परिर्वतन पाउनु भएको छ ?
पन्ध्र वर्ष अगाडीसम्म फिल्म बनाउने कामलाई गम्भिर रुपमा लिइन्थ्यो, फिल्म
मेकर्सले धेरै सोच्थे । एउटा फिल्म बनाउन ५० लाख नै चाहिन्थ्यो । अहिले २५
लाखमा पनि फिल्म बन्छ । त्यसैले मान्छेहरु फिल्म बनाउन सजिलै अग्रसर
भैरहेका छन् । नेपाली फिल्म निश्चित निर्माता, निर्देशक र कलाकारको
नियन्त्रणमा थियो । अहिले नेपाली फिल्म क्षेत्र कुनै पनि व्यक्तिको
नियन्त्रणमा छैन । नयाँ प्रयोग बढेको छ । नयाँ समुदायका कथा र पात्रको
प्रवेश पनि बढेको छ । ‘लुट’ ले नेवार पात्र ‘हाकु काले’ र ‘कवड्डी’ ले
थकाली समुदायको कथा ल्यायो । विभिन्न वर्णका कलाकारहरु छन् । जसले गर्दा
दर्शकको ‘मेनु’ फराकिलो भएको छ ।
मुल धारका फिल्मप्रति तपाइँको धारण के हो ?
नराम्रो र नक्कल गरिएका फिल्मप्रति मेरो आपत्ती हो । व्यक्तिप्रति आग्रह
वा पूर्वाग्रह पनि होइन । नजिकको साथीलाई पनि आलोचना गर्न हिच्किचाएको छैन ।
व्यक्तिगत व्यवहारका कारण मन नपर्ने निर्माता र निर्देशकले राम्रो फिल्म
बनाउँदा प्रशंसा गरेकै छु ।
फिल्म पत्रकारिता गर्दा गर्दै कसरी फिल्म लेखनमा प्रवेश गर्नुभयो ?
मेरो बच्चैदेखि फिल्मप्रति मोह हो । १२/१३ वर्षको उमेरदेखि नै म हरेक
पन्ध्र दिनमा हलमै गएर फिल्म हेर्थें । पत्रकारितामा प्रवेश गरेदेखि नै
फिल्म पत्रकारिता गरियो । फिल्म सम्बन्धी विदेशी किताबहरु खोजेर पढ्न थालें
। अहिले पनि फिल्म समिक्षा गर्दा कितावहरु पल्टाउँछु । ‘नागबेली’ लेख्नु
अघि 'सिड फिल्ड' र 'रोवर्ट म्याककी'ले लेखेका पटकथा सम्बन्धी किताब पढेको
थिएँ ।
‘नागबेली’ मा चाहिं कहाँको कथा छ ?
मेरो पहिलो मान्यता भनेको नेपाली फिल्म मौलिक हुनुपर्छ भन्ने हो । यही
माटोको कथा हुनुपर्छ । हिन्दी फिल्मको नक्कल गर्ने प्रवृक्तिबाट मुक्त
हुनुपर्छ । हिन्दी फिल्मको दृश्य र संवादलाई नेपाली फिल्ममा अनुवाद गरेर
देखाउने चलन धेरै थियो, अहिले केही घटेको छ । ‘नागबेली’ मा पनि समाजमा
घटिरहेको मैलिक कथालाई प्रस्तुत गरिएको छ । हिन्दी फिल्मको नक्कल गरिएको
छैन । पात्र पनि यही समाजको, संघर्ष पनि नेपाली पाराको छ ।
पर्दामा कस्तो देखिएको छ त ‘नागबेली’ ?
फिल्म भनेकै निर्देशकको माध्यम हो । कागजको पटकथालाई दृश्यमा कसरी
रुपान्तरण गर्ने भन्ने छनोट निर्देशकले नै गर्छ । त्यसकारण पटकथाकारले
सोचेकै दृश्य फिल्ममा उतारिन्छ भन्ने निश्चित हुँदैन । ‘नागबेली’ को
सन्दर्भमा मेरो अनुभव मिश्रित छ । कतै मैले सोचेको भन्दा राम्रो पनि भएका
छन् भने कतै अलि चित्त नबुझ्ने पनि लाग्छ । तर यो ठूलो समस्या होइन ।
निर्देशक र कलाकारको प्रस्तुती कस्तो पाउनु भयो ?
निर्देशक र कलाकारले उपलब्ध श्रोत, सुविधा र समय अनुसारको मिहेनत गरेका
छन् । यो हामी सबैको अन्तिम फिल्म होइन । आगामी फिल्महरुमा आफुलाई सुधारेर
प्रस्तुत हुन आवश्यक पनि छ ।
‘नागबेली’ को समिक्षा धेरैले पर्खेर बसेका छन् । तपाई चाहिं कस्तो समिक्षाको पर्खाइमा हुनुहुन्छ ?
नेपाली फिल्म क्षेत्रमा समिक्षा गर्ने संस्कृतिको विकास होस् भन्ने म
चाहान्छु । त्यसैले ‘नागबेली’को पनि समिक्षा भैदिए राम्रो । किनभने पटकथा
लेखनमा मैले सिक्नु पर्ने धेरै कुरा बाँकी छन् । ‘नागबेली’ को समिक्षाले
मलाई पटकथा लेख्न र अरुको फिल्मको समिक्षा लेख्न झन सहयोग पुग्नेछ । फिल्म
बुझ्न सोचे जस्तो सजिलो छैन ।

No comments:
Post a Comment